बरिष्ठ पत्रकार तथा प्रसिद्ध बाल साहित्यकार विनय कसजुको हृदय गति बन्द भई मंसिर १० गते काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको छ । उनको जन्म २००४ सालमा पाल्पा तानसेनमा भएको हो । निधन ७२ वर्षको उमेरमा भएको छ । उनको निधनबाट नेपाली प्रेस र साहित्य जगत्ले पत्रकारिताको प्रज्ञा र प्रविधि दुबै क्षेत्रमा एउटा विशिष्ट प्रविधिको पत्रकार र एउटा विशिष्ट कथा शिल्पीलाई गुमाएको छ ।

पछिल्लो चरणमा विनय कसजु बालकथा लेखन, प्रशिक्षण र सम्पादनमा संलग्न रहे । प्रतीकात्मक लेखन उनको फरक विशेषता हो । उनका ५० भन्दा बढी साहित्य कृति प्रकाशित छन । कतिपय प्रकाशन्मुख छन । लिस्नु, थापा थोपा, पशुतन्त्र आदि कृति बढी प्रशिद्ध छन । पशुतन्त्र विष्णु शर्माको पञ्चतन्त्रको ढाँचामा छन । पञ्चतन्त्र लेखे र संस्कृत साहित्यमा विष्णु शर्माले जुन ख्याति कमाए, पशुतन्त्र लेखेर विनय कसजुले त्यही ख्याति कमाएका छन । यिनको पशुतन्त्रको बारेमा मैले पनि एउटा संमीक्षा लेख लेखेको हुँ र समय सारथि स्तम्भमा छापेको हँु । यिनको साहित्यिक नाम पश्यकोयम हो । पाल्पाबाट २०२९ सालदेखि प्रकाशित श्रीनगर त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन पनि केही समय यिनले गरेका हुन् ।

पत्रकारिता तर्फ २०४० बाट सत्य सप्ताहिक प्रकाशित गर्न थाले । यो पत्रिका १२ वर्ष सम्म चलाए । पाल्पा र पश्चिम क्षेत्रमै यो पत्रिका विशेष गुणवत्ताका साथ फरक रह्यो । यसका सम्पादकीयहरू निरंकुश पञ्चायतका विरुद्ध विशेष उर्जावान हुन्थे । शिक्षक आन्दोलन ताक यिनको “चक्र र लाठी” शिर्षक सम्पादकीयले तरङ्ग नै पैदा गरेको थियो । २०५० सालबाट पाल्पाबाटै देउराली साप्ताहिक पत्रिका निकाल्न शुरु गरे । यो पत्रिका दक्षिण एसियामा पहिलो विकास पत्रिका थियो । देउराली पत्रिकाबाटै यतातिर गाउँका खसी, बोका, कुखुरा, आलु, प्याज, लसुन, टमाटर अदुवा, सँुगुर, सागपात पनि समाचार हुन् भन्ने थाहा लागेको हो भन्दा त्यति फरक पर्देन । मलाई सम्झना छ, तिनैकै प्रेरणामा मैले रेलै घुमेर गयोे बैनीको आधि उमेर शीर्षकमा देउरालीमा रेलको समाचार बनाएको हुँ । नौतनवा गएर धुँवा पुत्पुताउने रेलको फोटो खिची राखेका हौँ । त्यतिखेर नेपालमा रेलको सपना देख्ने सप्नदृष्टी थिए यिनी । २०२० सालमा यिनको पहिलो लेख गोरखापत्रमा छापिएको थियो ।

पछिल्लो समय विनय कसजु काठमाडौ सरे । यिनको पुख्र्याैली रिडी हो । रिडी हाई स्कुलमा पढाए । रिडी गाउँ पञ्चायतमा प्रधान पञ्च पनि भए । पाल्पामा रहँदा उद्योग वाणिज्य संघको उपाध्यक्ष भए । यिनको नेतृत्वमा कर विरोधी संशक्त ऐतिहासिक आन्दोलन भएको थियो । आन्दोलनले अभूतपूर्व रूपमा सफलता प्राप्त गरेको थियो ।
काठमाडौ सरेपछि यिनको कलम बालसाहित्य र खोज पत्रकारिता एवं तालिम र वातावरण पत्रकारिता तर्फ मोडियो । केही समय वातावरण पत्रकार संघको हाकाहाकीको सम्पादन गरेका हुन । यिनी प्रेस काउन्सिलको सल्लाकार र राष्ट्रिय समाचार समितिको सदस्य पनि भए । राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त बने । नेपाल प्रेस इन्स्टिच्युटको राष्ट्रिय प्रशिक्षक बनी थुप्रै तालिम सञ्चालन गरे । मैले पनि काभ्रेको धुलिखेलमा यिनिसँग पत्रकार प्रशिक्षकको तालिम लिएको हुँ । पश्चिमबाट म र दाङका नारायण प्रसाद शर्मा, नारायण गुरु सहभागी थियाँै । प्रशिक्षकमा यिनीसँग भारदत्त कोइराला र गोकुल पोखरेलहरू हुन्थे । विनय र हामीहरू भएर पछि बुटवलदेखि धनगढीसम्म थुप्रै तालिम सञ्चालन ग¥र्यौँ । अहिले ती तालिमका दृष्यहरू सम्झनाको तरेलीमा अघिपछि अघिपछि भएर आइरहेका छन ।

कसजुले तालिमको लागि विविध विधाका पाठ्यक्रम डिजाइन गरेका छन । सम्पादकीय लेखन, समाचार लेखन, अन्तरवार्ता, फिचर लेखनका लागि यिनले तयार पारेका पाठ्यक्रम पत्रकारिताका लागि मूल्यवान सम्पति छन ।
विनयकुमार कसजु नेपाली पत्रकारिता र बालसाहित्यमा विशेष आयाम हुन । सरल, बोधगम्य, सुष्ठुलेखन यिनको विशेषता हो । सामुदायिक रेडियोका अभियन्ता पनि हुन् यिनी । यिनलाई यो सानो समाचार टिप्पणीमा अटाउन हाल्न सकिन्न । विभिन्न प्रसंंग र बेला बखतमा समेटौंला । सारसंक्षेपमा विनय मिसन हुन, भिजन हुन र लेसन हुन । यिनका यी तीनवटा कुरालाई यतिकन पनि अनुसरण गरेका खण्डमा साँचो अर्थमा यिनी प्रति श्रद्धाञ्जली हुनेछ ।
अलविदा विनय कसजु ।

मंसिर १३ गते बुटवल टुडेमा प्रकाशित