नेत्र तामाङ

विनय कसजू मेरो खुल्ला कक्षाका गुरु एवम् अभिभावक। पछिल्लोपटक उहाँलाई कात्तिक १४ गते भेट्न उहाँकै निवास सानेपामा पुगेको थिएँ। यसअघि व्यक्तिगतभन्दा साहित्यिक भेटघाट हुन्थ्यो। त्यो दिनको भेट भने अलि फरक सहयोगका लागि थियो।

‘विनय सर’ मैले उहाँलाई सम्बोधन गरी बोलाउने नाम। मैले त्यसैगरी सम्बोधन गरी उहाँलाई अनुरोध गरेको थिएँ। मेरो व्यक्तिगत कामको कुराकानी सकेर उहाँसँग वर्तमान साहित्य र बालबालिकाका विषयमा करिब एक घन्टा कुराकानी भयो।

व्यक्तिगत कुराकानीपछि नेपाली मिडियाको अवस्थाबारे उहाँको धारणा सोधेँ। उहाँले सही र गलत छुट्याउने जिम्मा उपभोक्ता भएकोले सबै मिडिया एजुकेटेड हुनुपर्ने बताउनुभयो। ‘मिडियाले दिन खोजेको के हो? जान्ने क्षमता अब अडियन्सको हुनुपर्छ। न्युजको सार के हो? त्यो बुझ्नुपर्छ।’

उहाँ अझै थप्दै हुनुहुन्थ्यो, ‘हाम्रो समाज हत्या हिंसा र यौनका समाचार रुचाउँछ। पाठकले जुन मिडिया हेर्‍यो विज्ञापन पनि त्यतै जान्छ। पाठकहरुको चेतनास्तरकै कारण यस्तो भएको हो।’

विभिन्न भाइरल विषयबारे भन्दै हुनुहुन्थ्यो – साथीभाईसँग कुराकानी गर्न छिमेकीसँग कुरा गर्न। भाइरल कुरा हेर्नुपर्छ। किनकि हामीसँग धेरै फुर्सद छ। यो निकृष्ट रुचि हो।

तानसेन पाल्पाको प्रसंग पनि जोड्नुभयो – त्यतिबेला टिभी थिएन। अदालतमा रेप केसको मुद्दा चल्दा टन्न मान्छे हुन्थे। आउनेमा को को भन्दा – सिडिओकी श्रीमती। जिल्लाका हाकिमहरुका श्रीमती। त्यस्तो सुन्न आउँथे। दोषी त हाम्रो रुचि हो नि।

पछिल्लोपटक युट्युबको विकृतिबारे उहाँको धारणा थियो- युट्युबमा पनि मेनुपुलेट गर्न सकिने चलिरहेको छ। आफ्नो मृत्यु आफैंले डाक्छ। युट्युबको पनि त्यही हुन सक्छ।

त्यसपछि…

उहाँकी श्रीमती गंगा म्याडमले त्यस समयमा चिया ल्याउनुभयो। विनय सरले बिस्कुट खोल्नुभयो र मलाई पनि दिनुभयो। चिया बिस्कुटपछि उहाँहरुसँग बिदा लिएर म डेरा फर्के।

त्यसको ११ दिनपछि मेरो कामबारे सोध्न विनय सरलाई कल गरेँ। फोन गंगा म्याडमले उठाउनुभयो। भन्नुभयो- सम्झिनुभएकोमा धन्यवाद नेत्र जी। उहाँ अहिले आइसियूमा हुनुहुन्छ। मैले भने केही सोच्न सकिनँ। म त व्यक्तिगत कामका लागिमात्रै उहाँलाई सम्झिरहेको थिएँ। तर उहाँ त सिरियस भएर अस्पतालमा उपचाररत हुनुहुँदो रहेछ। मसँग भेट भएको ठीक पाँच दिनपछि कात्तिक १९ गते निमोनियाका कारण मेडिसिटीको आइसियूमा पुग्नुभएछ।

गंगा म्याडमसँग कुराकानी धेरै गर्न सकिनँ। त्यसपछि अग्रज बाल साहित्यकार, अनुसन्धानकर्ता, पत्रकार एवम् बाल वाङमय अनुसन्धान केन्द्रका अध्यक्ष दाजु प्रमोद प्रधानसँग उहाँको बिरामीबारे कुराकानी गरेँ। संस्थाकै उपाध्यक्ष एवं अग्रज बाल साहित्यकार विजयराज आचार्यसँग पनि कुरा गरेँ। उहाँहरुसँगको पटकपटक कुराकानीमा नभेट्नु नै जायज भएको सल्लाह पाएँ।

मन नमानेपछि पुगेँ मेडिसिटी…

निमोनियाका बिरामीलाई भेट्दा बिरामी र भिजिटर दुबैलाई संक्रमण हुनसक्ने सम्भावना भएकाले भेट नगर्न सुझाउनुभएको रहेछ। धेरैले यसरी नै भेट्न पाएनन्। केही दिनमै उहाँबारे खबर आयो – भेन्टिलेटर हटाइयो। स्वस्थ्यमा सुधार। त्यसपछि पनि मैले प्रधान र आचार्यसँग कुराकानी गरेँ भेट्नका लागि। तर उहाँहरुले भन्नुभयो – यसपटक पूर्ण स्वस्थ हुँदै हुनुहुन्छ। सबै एकैपटक गएर भेट्नुपर्छ।

मंसिर २ गते। म जाउलाखेलबाट पहिलोपोस्टको कार्यालय दरबारमार्गतिर निस्कँदै थिएँ। मन मानेन। पाइला मेडिसिटीतिरै अघि बढ्यो। ११ बज्दै थियो। म सिधै मेडिसिटीको आइसियू वार्डमा उक्ले लिफ्टबाट।

मैले भेट्न खोजेका विनय सर आइसियू वार्डबाट बाहिर टहलिन निस्कनु भएको रहेछ। माइला छोरा दीपंकर र कान्छा छोरा दुबैले फोटो खिच्दै उहाँलाई पारी देखिने डाँडाको बारेमा सुनाउँदै हुनुहुन्थ्यो। आफ्नो फोटो हेरेपछि विनय सर भन्दै हुनुहुन्थ्यो – साउथ इन्डियन फिल्मको हिरो जस्तै देखियो। अनि आफैं पनि हाँस्नुभयो। त्यतिबेला उहाँले चश्मा लगाउनुभएको थियो भने नाकमा अक्सिजनको नली जोडिएको थियो।

म ती कुरा सुन्दै उहाँहरुको पछिपछि लागिरहेको थिएँ। त्यहीबेला दीपंकरले मतिर हेर्नुभयो। अनि मैले नमस्कार गर्दै मेरो परिचय दिएँ। एक दुईपटकमात्र हाम्रो भेट भएको थियो। त्यसैले सम्झना नवीकरण भयो र दीपंकरले मलाई चिन्नुभयो।

दीपंकरले विनय सरलाई मतिर देखाउँदै म आइपुगेको जानकारी दिनुभयो। उहाँले सोध्नु भयो – काम भयो? काम त उहाँ बिरामी परेपछि रोकिएको थियो। तैपनि मैले हुँदैछ भनेँ। त्यसपछि उहाँले मलाई अमेरिकाको ‘हबर्ट हम्फ्री फेलोसिप’मा पनि ट्राइ गर्न भन्नुभयो। करिब १५ मिनेटको कुराकानीपछि म बिदा भएँ। उहाँ आइसियूमा पस्नुभयो।

उहाँको स्वास्थ्यमा प्रशस्त सुधार भएकोमा एकदम खुसी लागेको थियो। तर, मंगलबार दिउँसो उहाँको स्वास्थ्यमा गम्भीर समस्या आएको खबर फैलियो। बुझ्दा २ घन्टापछि बल्ल सूचना भयो- विनय सर नो मोर।

म स्तब्ध भएँ। मंसिर २ त उहाँ मलाई भेट्नै बौरिनुभएको जस्तो लाग्यो।

प्रमुख आयुक्त हुँदाबाट भेट

विनय सरसँग मेरो पहिलो भेट उहाँ प्रमुख सूचना आयुक्त हुँदा भएको थियो। त्यतिबेला सूचना आयोगको कार्यालय तीनकुनेमा थियो। अमेरिकाबाट प्रकाशित हुँदै आएको पाक्षिक पत्रिका एभरेस्ट टाइम्समा उहाँको अन्तर्वार्ताका लागि।

त्यसपछि उहाँसँग साहित्यिक कार्यक्रमहरुमा भेट भइरह्यो। म पनि बालकथा लेखनमा लागेँ। नागरिक दैनिकको बाल अंक जूनकिरीले हाम्रो भेट अझ नजिक बनाइदिएको थियो। मैले लेखेको बाल कथाका तीन किताब उहाँकै सम्पादनमा विवेक सिर्जनशीलबाट प्रकाशन भए। कार्यशालामा कथा लेखनका शैली सिकाउनुहुन्थ्यो। सम्पादन शैली सिकाउनुभयो। अरु थुप्रै कथा उहाँको सम्पादनमा विभिन्न कलेक्सन किताबमा प्रकाशित भएका छन्।

मैले बुझेको विनय कसजू

मैले विनय सरलाई साहित्यकारभन्दा पनि अभिभावकका रुपमा लिएँ। उहाँले कथाहरु सम्पादन गर्दा कहिल्यै यो भएन भन्नुभएन। खुरुखुरु आफैं सम्पादन गर्नुहुन्थ्यो अनि हामीलाई पठाउनुहुन्थ्यो – कस्तो भयो प्रतिक्रिया पाउँ भन्दै। उहाँको क्लिनिकमा पुगेको कथा सलल बगेर, बान्की परेर र मिठास भरेर आइपुग्थ्यो। अनि कमेन्ट गर्ने ठाउँ नै हुन्नथ्यो। लेखनका हिसाबले उहाँ हाम्रो प्रतिस्पर्धी पनि। वार्षिक उहाँ कथा सार्वजनिक गर्नुहुन्थ्यो। तर, किताब प्रकाशन भएपछि समाचार हाल्नु भनेर कहिल्यै भन्नुहुन्नथ्यो।

बालकथाका क्षेत्रमा लाग्नेहरु कम छन्। यो क्षेत्रमा कन्टेन्ट छैन। युवाहरु लागेमा धेरै राम्रो हुन्छ। यो क्षेत्रको भविष्य राम्रो छ भन्नुहुन्थ्यो। अरुलाई प्रोत्साहन गर्न पनि होला उहाँ आफैं कथा लेखनदेखि सम्पादनसम्ममा खटिनुभएको। उहाँकै नेतृत्वमा कथा लेख्न कहिले पोखारादेखि काभ्रेसम्म पुगियो। उहाँको कथा लेखन सुत्र भनेको -आफूले लेखेको विषय अरुलाई पनि देखाउनु।

निरन्तरता दिन उहाँ सधैं घच्घचाइरहनुहुन्थ्यो। अझै तामाङ भएकोले तामाङ समुदायको बाल साहित्य क्षेत्रमा जोड दिन र आफ्ना परिवेशका विषयवस्तुलाई मूलधारमा ल्याउन सुझाव दिनुभयो। पछिल्लो समय म बालकथाहरुमा आफ्नै परिवेश मिसाउँछु। पहिले लाग्थ्यो- मेरो मास नेपाली हो। तामाङ समुदायको कन्टेन्ट रुचाउँदैनन्। तर, ती त आर्गानिक हुने रहेछन्। नाम फरक, परिवेश फरक। सधै हिन्दु संस्कृतिको सेटिङका कथा सुनिरहेकाहरुलाई बौद्ध र बोन परिवेशका कथा फरक र स्वादिलो लाग्ने रहेछ। उहाँबाटै प्रेरणा पाएर मैले अहिलेसम्म बालबालिकाका लागि ६ वटा नेपाली भाषाका चित्रकथा र एक तामाङ कथा संग्रह प्रकाशन गर्न सम्भव भएजस्तो लाग्छ। अन्य कथा संग्रहहरुमा पनि कथाहरु संकलित भएका छन्। बाल साहित्यका एक खम्बाको अवासन भएको छ। अब उहाँको यो प्रेरणालाई अझ बढी सशक्त भएर सम्हाल्ने जिम्मेवारी मजस्तै बालसाहित्य अनुरागीको काँधमा आएको छ। जीवन यात्रामा उहाँसँग धेरै भेट त भएन। भएका भेट खास थिए।

२० – २५ को उमेरमा म गायक प्रवीण निर्वाणाको गीत खुब सुन्थेँ। खै किन हो, जसमध्ये ‘जब तारा गनेर’ जिब्रोमै खुबै झुन्डिन्थ्यो।

मान्छेको जीवन हो सधै भेट्न गारो हुन्छ

दुरदृष्टिले मन झन सारो हुन्छ

मान्छेको जीवन समयसाथ उडेर जान्छ

एकदिन दैवले तन मन हरेर लान्छ

अहिले त्यही गीत मनमा गुञ्जिररहेको छ। अलविदा विनय सर।