विनय कसजू, उहाँको परिचयको क्षितिज फराकिलो छ। बालसाहित्य, कथासाहित्य, साहित्यिक पत्रकारिता, ग्रामीण पत्रकारिता, सूचना क्रान्तिका अगुवा । आफ्नो रुचि र क्षेत्रका विषयलाई गहिराइसम्मै चुमेर त्यसका अन्तरवस्तु पक्रिँदै जनमानससामु फिजाउन सदैव प्रयत्न गर्नुभयो जीवनपर्यन्त

मितभाषी, मृदुभाषी । थाहा भएन, गते र बार । न त महिना नै । पहिलोपटक विनयकुमार कसजू सरलाई भेट्दा उहाँका बानी, बेहोरा र अरूसँग प्रस्तुत हुने शैलीले आकर्षित तुल्याएको थियो । समुपस्थित भेट नभए पनि उहाँका साहित्यिक रचनाहरूबाट पहिला नै भेट भइसकेको थियो मेरो । धेरै अर्थपूर्ण, गम्भीर र सम्प्रेषणीय लाग्थे उहाँका रचनाहरू । प्रगतिशील साहित्य सर्जकको पंक्तिमा उभ्याउँदै उहाँलाई एउटा सामयिक प्रकाशनमा समेटिएको थियो, २०४५ सालताका । त्यसमा छापिएको थियो, उहाँको एउटा लघुकथा– ‘दयालु सेठ’ । निकै छोएको थियो त्यो लघुकथाले । र, त्यही समयदेखि नै उहाँको साहित्य सिर्जनाको क्षितिज र धरातललाई एकैपटक चिन्ने औसर पाएको थिएँ । त्यसयता उहाँका हरेक सिर्जना र अरू विषयगत क्रियाकलापलाई नियाल्न पाएँ ।

विनय कसजू, उहाँको परिचयको क्षितिज फराकिलो छ । बालसाहित्य, कथासाहित्य, साहित्यिक पत्रकारिता, ग्रामीण पत्रकारिता, सूचना क्रान्तिका अगुवा । आफ्नो रुचि र क्षेत्रका विषयलाई गहिराइसम्मै चुमेर त्यसका अन्तरवस्तु पक्रिँदै जनमानससामु फिजाउन सदैव प्रयत्न गर्नुभयो जीवनपर्यन्त । नेपाली पत्रकारिता इतिहासमा ग्रामीण पत्रकारिताको सैद्धान्तिक क्षेत्रलाई पहिल्याउन भारतदत्त कोइरालाले प्रयत्न गर्नुभए पनि त्यसका व्यावहारिक बाटाहरू पहिल्याउन भने विनय सरकै प्रयत्न सराहनीय मानिन्छ । ग्रामीण भेगका समस्याहरूलाई सम्बोधन गर्ने हेतुले तीसको दशकमै पाल्पाबाट प्रारम्भ गर्नुभएको ग्रामीण पत्रकारिताको जगलाई पछिल्लो समय राष्ट्रिय मूलधारका मिडियाहरूले समेत पछ्याउन थाले । कुनै बेला जिल्ला समाचारका तहभन्दा माथि उक्लिन नसकेको गाउँघरका समाचारलाई राष्ट्रिय समाचारको सिँढीमा उकाल्न विनय सरकै सोच र प्रयत्नको भूमिका छ भन्नुमा गर्व लाग्छ अहिले ।

नेपाली पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनमा अघिल्लो पुस्ताका अभियन्ता विनय सरको योगदानलाई कुनै पनि दिशा र कोणबाट छाँटकाट गर्न सकिँदैन । तर, यतिमा मात्र उनको परिचयलाई खुम्च्याउँदा अन्याय हुन जान्छ । त्यो तानाशाही पञ्चायती व्यवस्थाको एकलौटी र क्रूर शासन चम्किरहेको समय थियो । कुनै स्वतन्त्रता थिएन । न वाक, न प्रेस । हरेक सिर्जनाले सेन्सरको अँध्यारो सुरुङ पार गरेपछि मात्र त्यसले सिर्जनाको मान्यता पाउँथ्यो । त्यस्तो समय सीधै लेख्न पाइँदैनथ्यो । व्यवस्थाका खोस्टेहरूले हैरान खेलाउँथ्यो । साहित्यको बजारमा चम्किएका विम्ब, उपमा, प्रतीकहरूलाई पछ्याउँदै लेख्नुपर्ने बाध्यता सिर्जनाको संसारमा रमाउनेहरूलाई छँदै थियो । त्यस्तो जटिल र कठिन समयास्थितिमा कसजू सरले निकै चम्किला साहित्य सिर्जनाहरू कोर्नुभयो । लाग्छ, पञ्चायतकालीन समयमा समाजमा व्याप्त शोषण र गरिबीको तस्बिर हुबहु उतार्ने उहाँका लघुसाहित्य अझै पनि उत्कृष्ट सिर्जनाको संसारमा उभिएका छन् ।

विसंगतिमाथिको प्रहार, उहाँको लेखनको मूल ध्येय रह्यो सदैव । देशमा बहुदलीय व्यवस्था स्थापना भएपछि गैरसरकारी संस्थाहरू एकैपटक ओइरिए र गाउँगाउँसम्म पुगेर गरिबी निवारणका आकर्षक कदमहरू चाले । गैरसरकारी संस्थाहरूको आगमनसँगै निम्न आर्थिक स्रोतबीच बाँचिरहेका जनताको मुहारमा चमक छाए पनि त्यसले सामाजिक जीवनमा ल्याएका विसंगतिका तस्बिरहरू भने निकै कुरूप र दर्दनाक थियो । कसजु सरले विकास र समृद्धिका नाममा भित्रिएका कुरूप आकृतिहरूलाई बेलैमा पहिचान गर्नुभयो र लेख्नुभयो, थुप्रै मर्मस्पर्शी सिर्जनाहरू । त्यो उहाँको साहित्य र पत्रकारिता दुवै लेखनमा उपस्थित रह्यो ।

पछिल्लो चरणमा भने उहाँ धेरै ढल्किनुभयो, बाल साहित्यतिर । बालमस्तिष्कलाई उर्वर र शक्तिशाली सिर्जना दिनुपर्छ भन्ने इच्छाबोधले प्रेरित भएरै हुनुपर्छ, उहाँले बालसाहित्य लेखनमा नै आफूलाई क्रियाशील तुल्याउनुभयो । तर, बालसाहित्य लेखनमा उहाँले परम्परागत शैलीलाई पछ्याउन भने रुचाउनुभएन । बालसाहित्य लेखनका क्रममा अधिकांशले अर्ति, उपदेशलाई सहारा लिन्छन्, नीतिकथा शैलीमा लेख्न रुचाउँछन् । बालबालिकालाई अर्ती र उपदेशले पुर्नुपर्छ भन्ने मान्यता नेपाली बालसाहित्य लेखनमा व्याप्त छ । कसजू सरले बालसाहित्य लेख्दा नैतिक सन्देशहरू त प्रवाहित गर्न त रुचाउनुभयो तर भद्दा र कोरा नैतिक उपदेशबाट माथि उठेर उहाँले बालसाहित्य सिर्जना गर्नुभयो । यसलाई उहाँको लेखकीय खुबी मान्नुपर्ने हुन्छ ।

विनय सरको अवशानपछि नेपाली पत्रकारिता, बालसाहित्य, कथासाहित्यले पाउनुपर्ने थुप्रै सिर्जनात्मक, अनुभवनात्मक कुराहरू नपाउनेमा अब कुनै सन्देह रहेन । त्योभन्दा पनि उहाँका जीवनका कतिपय सिर्जनात्मक पक्षहरू वर्तमान पिँढीले थाहा नपाएका हुन सक्छन् र त्यस्ता पक्षहरू पनि अवश्य पनि होलान् । ती पक्षहरूलाई पनि बाहिर ल्याउन आवश्यक छ, जसले कसजू सरको जीवनका अनेक आयामहरू खुलाउन मद्दत पु¥ाउनेछन् ।

यथार्थका अन्वेषकप्रति हार्दिक श्रद्धा–सुमन ।