केदार शर्मा

विनयकुमार कसजू (वि.सं. २००४–२०७६)

पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु ।

धेरैको आफ्नो नाम अनुसारको स्वभाव हुँदैन । तर विनय कसजू भने विनयशीलताका जीवित प्रतिमूर्ति हुनुहुन्थ्यो ।

२०७५ असार ३० गते फेसबूक मार्फत उहाँले मसमेत भएको र उहाँको घरमा खिचिएको दुईवटा फोटा पठाएर सोध्नुभएको रहेछ—

यी फोटा कुन वेला र सन्दर्भका हुन् ? मद्दत गर्न सक्नुहुन्थ्यो कि ? मैले जवाफ दिएको रहेछु— पहिलो, २०४७ असारमा, म क्यानेडियन फिल्ममेकरहरूसित तपाईंको बजारको घरमा आएका वेला खिचेको र दोस्रो, वल्र्डभ्यू नेपालको टीमसित तपाईंको गोलघर अगाडि । सम्भवतः त्यो फोटो २०५४ सालमा खिचिएको हो ।

उहाँको थप टिप्पणी रहेछ— धेरै कुरा बिर्सिएछ । फोटा देख्दा के होला भनेर छटपटी लाग्छ । अनि मैले ती सन्दर्भहरूका बारे बताएको रहेछु । त्यसपछि भने हाम्रो कुराकानी भएको रहेनछ । २०४७ साल असार । म सीबीसी रेडियो क्यानाडाका डकुमेन्ट्री निर्माता झँ क्लोद मेरियोंको अनुसन्धान सहायक र दोभाषेका रूपमा काम गर्दै थिएँ । हामी पोखराबाट नेपालगञ्ज जाने क्रममा थियौं ।

यसबीचमा ‘तानसेनमा विनय कसजूलाई भेटेर जानुहोला है’ भन्ने सुझाव मैले गुरु पत्रकार भारतदत्त कोइरालाबाट पाएको थिएँ । आफूले मानेका व्यक्तिले ‘स्थानीय विषयवस्तुलाई समाचारको विषय बनाउने र सरल किसिमले प्रस्तुत गर्ने विनयजीको सीप र लगनशीलता गजब छ । उहाँकहाँ जानुहोला । तपाईंका प्रोड्युसरले पनि एकजना असल मान्छे भेट्नेछन्’ भनेपछि नजाने कुरै भएन ।

हामी कसजूको घरमा गयौं । त्यसवेला उहाँ ‘सत्य’ साप्ताहिक निकाल्नुहुन्थ्यो । भर्खरै ‘पाल्पा एज यु लाइक इट’ अंग्रेजी किताब पनि निकाल्नुभएको थियो । हामीले उहाँहरू (उहाँ र उहाँकी धर्मपत्नी गङ्गा कसजू) बाट धेरै जानकारी पायौं । मेरा पाहुना पनि निकै प्रभावित भए ।

पछि भारतदत्त कोइरालाकै अग्रसरता र सहयोगमा कसजूले गाउँले पत्रिका देउराली निकाल्नुभयो । स्वास्थ्यका कारण काठमाडौं बस्न थालेपछि आफ्नो ‘सूचनाप्रतिको प्रेम’ र प्रतिबद्धताकै कारण उहाँ राष्ट्रिय सूचना आयोगका पहिलो प्रमुख आयुक्त समेत बन्नुभयो ।

विनयजीको निधनपछिका समाचारहरूमा उहाँलाई मूलतः पत्रकार नै भनेर लेखिएको पाइयो । स्वयंले भने फेसबूकमा आफूलाई यसरी चिनाउनुभएको रहेछ– सूचना, सञ्चार र साहित्यका माध्यमबाट संसारलाई अझ राम्रो बनाउन क्रियाशील, लेखक र साहित्यकार ।

विनयजी आदर्शवादी हुनुहुन्थ्यो र आफूले ठाने–मानेको आदर्शको प्राप्तिका लागि सधैं उत्सुक, सृजनशील र क्रियाशील रहनुभयो । २०५० को दशकको प्रारम्भतिरै मुटुको शल्यक्रिया गराउन थाइल्याण्ड गएर आउँदा पाएसम्मको अत्याधुनिक ल्यापटप बोकेर आउने, युनिकोडको विकास नहुँदै ‘नेपालीमा इमेल पठाउने’ प्रयास गर्ने, आफ्ना सबै सामग्री इन्टरनेटमा राख्ने जस्ता उहाँका प्रविधिप्रेमी व्यवहारबाट पनि म सधैं प्रभावित छु ।